संगीतकार मुनालको निधन



संगीतकार विजयसिंह मुनालको आकस्मिक निधन भएको छ। उनी घुमघामको सिलसिलामा आफन्तका साथ धनगढीको टीकापुर पुगेका थिए।

आइतबार राति रमाइलो गरी सुतेका उनलाई सोमबार बिहान अचानक मृत अवस्थामा भेटिएको थियो। ‘उहाँ हिजो (आइतबार) राति खाना खाएर राम्रैसँग सुत्नुभएको थियो। आज (सोमबार) बिहान ढिलोसम्म नउठेकाले ९ बजेतिर अंकलले उठाउन जाँदा एक्सपायर भएको थाहा भएछ’, राजधानीको मध्य बानेश्वरको मितेरी मार्गस्थित निवासमा रहेकी संगीतकार मुनाल पुत्री तथा गायिका वृन्दा मुनालले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘टीकापुरको अस्पताल पनि लगिएको थियो। के रिपोर्ट आयो थाहा छैन, तर उहाँलाई लामो समयदेखि उच्च रक्तचाप भएकाले हर्टअट्याक भएको हो कि भन्ने अनुमान गरेका छौं।’ वृन्दाका अनुसार टीकापुरबाट उनको शव सोमबार नै एम्बुलेन्समा रोखर काठमाडौं ल्याइँदै छ र भोलि बिहान ८ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

२००७ सालमा जन्मिएका मुनाल संगीत सृजनामा मात्र नभई वाद्यवादनमा पनि पोख्त थिए। आधुनिक र राष्ट्रिय गीतका साथमा भजनमा पनि संगीत भर्दै आएका मुनालका ५ दर्जनभन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भएका छन् भने रेडियो नेपालबाहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन्। उनी उदितनारायण झाको सबैभन्दा मिल्ने साथी थिए र उदितनारायणलाई मुम्बईमा स्थापित गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मधु क्षेत्री, विजयसिंह मुनाल र उदितनारायण झालाई त्यस समयमा त्रिमूर्ति भन्ने गरिन्थ्यो। उनले रगत नामक फिल्मका लागि पनि संगीत भरेका थिए।

विराटनगरका उत्साही युवाहरु वासुदेव मुनाल, विजयसिंह मुनाल आदि मिलेर विराटनगरमै मुनाल क्लबको स्थापना गरेका थिए, जसको माध्यमबाट पूर्वाञ्चलमा सांगीतिक गतिविधि अघि बढाएका थिए। मुनालपथ आज पनि विराटनगरमा चर्चित छ, उनीहरुले नै नामकरण गरेका हुन्। उनको संगीतमा तारादेवी, प्रेमध्वज प्रधान, उदितनारायण झा, मीरा राणा, मुरलीधर, स्वयम्भूराज शाक्य, ज्ञानु राणा, कुन्ती मोक्तान, प्रदीपराज पाण्डे, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, रचना जिसी, गोपाल श्रेष्ठदेखि लिएर युवापुस्ताका कलाकारहरुले समेत गीत गाएका छन्। उदितनारायण झाले गाएका तिम्रो अधरले, ए दिल कसको यादमा, तिम्रो बाटो हेर्दा, पर पर सरेको, किन किन तिम्रो यादमा बोलका गीत प्रिय छन् भने प्रेमध्वज प्रधानले गाएको उकालीको एक्लो, तारादेवीले गाएको झरी गए पात, मीरा राणाले गाएको उजाड भयो जिन्दगी, बिर्सुन कसरी, मीरा राणा र रवीन शर्माले गाएको तिम्रो माया, मुरली धरले गाएको हाल दिलको आदि गीत सांगीतिक क्षेत्रका अमूल्य सृजना हुन् उनका। मेरो भन्नु नै यो देश हो (लोकेन्द्र साहको रचनामा गोपाल श्रेष्ठ), नेपाल हाम्रो नेपाली हामी स्वदेशगान पनि प्रिय छ स्रोता माझमा।

उनी रेडियो नेपालका गीत रेकर्ड गर्दा कंगो र तबलावादन गर्थे भने स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रूपमा सक्रिय हुन्थे। रेडियो नेपालमा उनी २०३५⁄०३६ सालदेखि कंगोवादकका रूपमा टेक बेसिस सेवामा थिए। उनी मध्यबानेश्वर मित्रनगरस्थित निवासमै संगीत सिकाउँथे। उनका गीत उदितनारायण झा, तारादेवी, मीरा राणा, सीताराम पोखरेल, पुष्कर जंगमदेखि नयाँ पुस्ताका गायकहरुसम्मले गाएका थिए। ‘उहाँ अझै पनि संगीतमै तल्लीन हुनुहुन्थ्यो। धनगढी जानुअगाडिसम्म ३ दिनअगाडि मात्रै पनि नयाँ प्रतिभाहरुलाई आलाप सिकाइरहेको देखेको थिएँ।’ –उनका छिमेकी तथा फिल्म लेखक एवम् निर्देशक लक्ष्मीनाथ शर्माले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने। स्वर्गीय मुनालको परिवारमा श्रीमती र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्