तनहुँको ब्यास नगरमा चरम बेथिति- खाना, खाजा र विविधमामात्रै एक वर्षमा १ करोड ११ लाख खर्च

‘जथाभावी ढुंगा गिटी बालुवा उत्खनन’



तनहुँ । तनहुँको सदरमुकाम रहेको ब्यास नगरपालिकामा चरम आर्थिक बेथिति रहेको पाइएको छ । व्यास नगरपालिकाले विभिन्न पक्षसँग मिलेमतो गरीआर्थिक वर्ष २०७८÷७९ मा मात्रै विविध र खाना खाजामा १ करोड ११ लाख ४ हजार रुपियाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले व्यासमा भएको विविध र खाजावापतको सो खर्च अस्वाभाविक भएको र सरकारको आर्थिक मितव्ययिता नीतिविपरीत मनपरी खर्च गरेको ठहर गरेको छ ।

ब्यासमा दोस्रोपटक मेयर बन्नुभएका बैकुण्ठ न्यौपानेमाथि शहरलाई व्यवस्थित र सुन्दर बनाउन छोडेर विभिन्न आर्थिक बेथिति मच्चाएको आरोप लाग्दै आइरहेको छ ।

व्यास नगरपालिकाल विविध र खाजामा गरेको खर्च नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड–२०७७ को दफा ३ विपरीत रहेको महालेखाले स्पष्ट पारेको छ । जसअनुसार सार्वजनिक निकाय तथा सार्वजनिक पदधारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द , पानी, बिजुली, इन्धन तथा विविध खर्चलगायतका शीर्षकमामितव्ययिता कायम हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था छ। तर, व्यास नगरपालिकाका मेयर न्यौपानेले सो प्रावधानलाई बेवास्ता गर्दै विविध र खाजा खर्चमा त्यति धेरै रकम सकाउनुका साथै निवासमा बस्दा पाइने विभिन्न सुविधामा अत्यधिक खर्च गर्ने गरेको जनाइएको छ ।

विविधि शीर्षकमा केमा कति खर्च भयो भन्ने बारेमा नगरपालिकाले केही खुलाएको छैन । महालेखाले विविध र खाजा खर्चमा अस्वाभाविक खर्च भएको भन्दै व्यास नगरपालिकाप्रति आपत्ति जनाएको छ । महालेखाको सो आपत्तिसँगै खाजा र विविध शीर्षकमा भएको १ करोड ११ लाख रुपियाँ खर्चको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ ।

महालेखाले व्यास नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा मापदण्डविपरीत २ सय ४४ जना व्यक्तिलाई अफूखुशी ३९ लाख २० हजार आर्थिक सहायता उपलब्ध गराएको भन्दै त्यसप्रति पनि आपत्ति जनाएको छ ।व्यास नगरपालिकाले मापदण्ड पनि नबनाई र लागतसमेत नराखी आर्थिक सहायता वितरण गरेको पाइएको भन्दै महालेखाले सो कार्य कानुनविपरीत रहेको जनाएको छ । यस्ता खालका खर्चमा कटौती गर्नुपर्ने र दिनैपर्ने भएमा स्पष्ट मापदण्ड बनाएर पारदर्शी किसिमले दिनुपर्नेे सुझाव दिँदै महालेखाले व्यास नगरलाई त्यस्ता खर्च रोक्न समेत भनेको छ ।

व्यासले विभिन्न आयोजनामा काम गर्दा केही निर्माण व्यवसायीसँग मिलेमतो गरी आवश्यकभन्दा बढी रकम भुक्तानी समेत गरेको भन्दै त्यस्तो रकम फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

व्यासले व्यवसायीसँग मिलेमतो गरी पेश्की फस्र्यौट गर्न नसकेको समेत पाइएको छ । विभिन्न निर्माण व्यवसायीलाई दिएको  मोबिलाइजेसन पेश्की ३५लाख ५७ हजार तथा म्याद नाघेको पेश्की २ करोड ४९ लाख ४५ हजार पनि फस्र्यौट गर्न बाँकी रहेको महालेखाले जनाएको छ । महालेखाले त्यसरी बाँकी रहेको पेश्की रकम फस्र्यौट गर्न पनि निर्देशनगरेको छ । त्यसैगरी नियमअनुसार १२ भ्रमणको लागि १८ लाख ९८ हजार खर्च गर्नुपर्नेमा २८ लाख ५६ हजारखर्च गरी ९ लाख ५८ हजार रुपियाँ नगरपालिकालाई व्ययभार पारेको भन्दै सो रकम भ्रमणमा सहभागीबाट असुलउपर गर्न पनि महालेखाले निर्देशन दिएको छ ।

‘जथाभावी ढुंगा गिटी बालुवा उत्खनन’

व्यास नगरपालिकाको नेतृत्वले ठेकेदारसँग मिलेमतो गरि सम्झौताभन्दा बढी ढुंगा,गिटी रबालुवा उत्खनन गरेको हुनसक्ने भन्दै महालेखाले शंकाव्यक्त गरेको छ ।महालेखाले प्रतिवेदनमा उल्लेख ठेकेदार फर्महरूले अधिकतम उत्खनन गरेनगरेको यकिन गर्न नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गर्नुपर्ने,आवश्यक अनुगमन तथा मूल्याङ्कन गर्नुपर्नेमा त्यस्तो कार्य नगरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्