बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावको मिति घोषणासँगै सरकार कामचलाउ भएको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । उनले भने- ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने ।
बिहीबारको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताए ।
नेम्वाङले अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको टिप्पणी गरे ।
अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनले वजेट निर्माणका क्रममा उठेका प्रश्नको उत्तर दिनुको साटो झन् धेरै प्रश्न जन्माएको नेम्वाङले बताए । उनले आसन्न चुनावमा एमालेले सकेसम्म विचार मिल्नेसंग तालमेलको प्रयास गर्ने नभए एक्लै लड्ने बताए ।