१७ बैशाख २०८१, सोमबार 1714398077
Banner

धार्मिक एवं सांस्कृतिक पर्व सम्बद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताउनुभएको छ ।

उहाँले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताउनुभएको छ ।

नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि परसरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।