१८ बैशाख २०८१, मंगलबार

पछिल्लो राजनीतिक घटनाक्रमप्रति उपराष्ट्रपति पुन निरन्तर असन्तुष्ट

प्रकाशित मिति :  29 January, 2021 10:23 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सहिद दिवसले संविधानको रक्षा र पूर्ण पालन गर्न सबै नेपालीलाई प्रेरणा दिने मेरो विश्वास व्यक्त गरेका छन् ।

सहिद दिवस–२०७७ कोे अवसरम शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले सहिदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता उपलब्धीहरुलाई संस्थागत गरेको संविधानको रक्षा र पूर्ण पालन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गरेका छन् ।

उनले पछिल्लो राजनीतिक अवस्थाप्रतिपनि असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्,“प्रतिनिधिसभा विघटनपछि संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएको छ । नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद कुरा हो ।”

नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले यी उपलब्धीहरुलाई संस्थागत गरेको हाम्रो संविधानले राजनीतिक स्थिरताको परिकल्पना गरेको बताएका छन् । उनले भनेका छन्,“सबैखाले क्रान्ति तथा आन्दोलनमा नेपाली वीर सपुतहरुको बलिदानी रहेको छ । प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरु प्राप्तीको मुख्य श्रेय सहिदहरुलाई जान्छ ।”

उपराष्ट्रपति पुनले सहिद दिवसको अवसरमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण सहिदहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले प्रतिनिधि सभा विघटनपछि निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले विशेष अवसरमा दिने शुभकामनामा संविधान उल्लंघनको अवस्था आएको प्रति असन्तुष्टि जनाउनेगरेका छन् । उनले भन्ने गरेका छन्, नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद कुरा हो । पछिल्लो समय पूर्वमाओवादीलाई आफ्नै निवासमा बोलाएर समेत छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !