कता हराए गायक निमा रुम्बा ?



कुनै बेलाका निकै चर्चित गायक हुन्, निमा रुम्बा । उनले गाएका मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि तथा मेरी प्रियसी गीतले दर्शकमाझ राम्रो छाप छोडेका छन् । उनको परिचयको दायरा गायक, गीतकार र संगीतकारको रुपमा मात्र सिमित छैन । उनले चलचित्रमा नायक भएर पनि अभिनय गरेका छन् तथा दर्जनौ स्वदेशी तथा बिश्व्ब्यापि ब्रान्डहरु जस्तै: कोका कोला, डाबर नेपाल प्रोस्टाईल, ईमामी फेयर एन्ड हेन्डसम, एसियन पेन्टस नेपाल, साकालाका बुम नुडल्स, नानो नुडल्स आदिका ब्रान्डराजदुत पनी रहिसकेका छन् । पहिलो पटक फिल्म ‘कागबेनी’ मा अभिनय गरेका उनले लामो समयपछि ‘छिरिङ’ चलचित्रबाट अभिनयमा कमब्याक गरेका थिए ।

सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका निमाले सन् १९९४ मा एकल एल्बम ‘सुन सुन’ लिएर आएका थिए । उनलाई सर्वाधिक लोकप्रिय गायकमा स्थापित गरेको गीत भने ‘मिस् क्याटवाक’ हो । यो गीत उनको दोस्रो एल्बम ‘मेमोरिज’ मा समावेश थियो, जुन १९९६ मा सार्वजनिक भएको थियो । गीतमा अमर खड्कीको शब्द तथा संगीत रहेको थियो भने भिडियोलाई भुषण दाहालले ईमेज च्यानलका लागी निर्देशन गरेका थिए ।

यसपछि उनले सन् २००० मा ‘हुरी बतास, सन् २००२ मा ‘लोलिता’, सन् २००४ मा ‘फेथ’’, सन् २००६ मा ‘प्राईड’ र सन् २०११ मा ‘रंगाऊ कि म’ एल्बम बजारमा ल्याए । एक समय नेपाली पप रक संगीतमा उनले डेढ दशक जस्तो आफ्नो बर्चश्व नै जमाएका थिए । युवापुस्तामाझ उनका गीतहरु अहिले पनि उतिक्कै लोकप्रिय छन् । संगीत दुनियाँमा उनलाई ‘सदाबहार गायक’ समेत भन्ने गरिन्छ ।

धेरै बर्ष दर्शक स्रोताको मन जितेका गायक रुम्बा पछिल्लो समय गायनबाट निस्क्रिय जस्तै देखिएका छन् । उनको स्वरमा रहेका गीत सार्वजनिक नभएको लामो समय भइसकेको छ । कतिपयले उनी गायन छाडेर पलायन भएको समेत भन्ने गरेका छन् । यसप्रकारको चर्चा नहोस् पनि कसरी, उनका आवाजामा गीत नआएकै वर्षौं भइसकेको छ ।

पछिल्लो समय उनी देश तथा विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त हुने गरेका छन् । उनले आफ्ना पुराना चर्चित गीतहरु लिएर धेरै विदेशी मुलुकहरुका विभिन्न ठाउँहरुमा प्रस्तुती दिइसकेका छन् । कोरोना महामारीभन्दा अगाडि उनको विदेशका मञ्चमा राम्रो माग थियो । तर, दर्शकहरु उनको पुनः पहिलेको जस्तै गायनमा सक्रियता रहोस् भन्ने चाहिरहेका छन् । उनको आवाज अनि उनको सांगीतिक प्रस्तुति संगीत दुनियाले नै ‘मिस’ गरिरहेको छ । आशा गरौं, उनको गीत संगीतको पुनरागमन चाँडै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu