परराष्ट्रको पत्रले एनआरएनमा हल्लीखल्ली, चुनाव नरोक्न सबै सहमत

काठमाडौं, ३१ भदौ । १० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ ।

एनआरएनको चुनावमाथि हस्तक्षेप गर्दै परराष्ट्र मन्त्रालयले आगामी अक्टोबर २० ९कात्तिक ३ गते० मा हुने निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन भनेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले भदौ २५ गते एनआरएनएलाई पत्र लेखेर निर्वाचन रोक्न निर्देशन दिएका हुन् ।

आगामी कात्तिक ३ गते नयाँ नेतृत्वका लागि चुनाव गर्ने कार्यतालिका तय भइसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले एनआरएनएको चुनाव रोक्न भनेको हो । नयाँ नेतृत्व चयन गरेको तीन दिनपछि, अक्टोबर २३–२५ (कात्तिक ६–८ गते) सम्म विश्व सम्मेलन गर्ने गैरआवासीय नेपाली संघको कार्यतालिका छ ।

एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो । ८० बढि देशमा यसका शाखाहरु छन् । परराष्ट्र मन्त्रालयसँग समन्वय र सहकार्य गरेर एनआरएनएले आफ्नो गतिविधि गर्दै आएको छ ।

विवादमा रुमलिँदै संस्था

विदेशमा रहेर आफ्नो मातृभूमि नेपाललाई माया गर्ने प्रवासी नेपालीहरुको छाता संगठन पछिल्लो समय चरम विवादमा फस्न थालेको छ । संगठनभित्रको यही विवादमा टेकेर परराष्ट्र मन्त्रालयले निर्वाचन रोक्नेसम्मको सर्कुलर गरेको हो ।

निर्वाचनको प्रक्रिया रोक्ने परराष्ट्रको पत्रपछि दुई समूहमा विभाजित एनआरएनएका अभियन्ताहरु एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिन थालेका छन् । यद्यपि समस्या समाधान गरेर तोकिएकै समयमा महाधिवेशन गर्नेमा भने सबै एकमत देखिन्छन् ।

गैरआवासी नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रतिनिधि चयनका विषयमा एनसीसीहरुबाट कुनै गलत क्रियाकलाप भएको पाइए त्यसलाई सच्याउने र तोकिएकै मितिमा निर्वाचन गरिने बताए । उनले छिट्टै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर समस्याको समाधान गरिने उनले बताए ।
अध्यक्ष पन्तले एनसीसीहरुले प्रतिनिधिहरुको लिस्ट पठाउने कार्य पारदर्शी हुनुपर्ने भन्दै कुनै कैफियत पाइए सच्याउने दावी गर्दै कुनै पनि हालतमा तोकिएको मितिमा चुनाव हुनुपर्ने बताए ।

उता, अध्यक्ष पदका प्रत्यासी बद्री केसी र उनको समूहले भने परराष्ट्र मन्त्रालयले राजनीतिक प्रतिशोधका आधारमा गलत ढंगले निर्वाचन प्रक्रिया रोक्ने पत्र पठाएको आरोप लगाएको छ । एनआरएनको चुनावी प्रक्रियामा परराष्ट्रले अनावश्यक हस्तक्षेप गरेको केसी पक्षको आरोप छ ।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने वर्तमान उपाध्यक्षसमेत रहेका बद्री केसी र महासचिव डा हेमराज शर्माले डेलिगेट्स (निर्वाचन प्रतिनिधि) छनोटमा मनपरी गर्दा समस्या उत्पन्न भएको बताउँछन् ।

अधिवेशन रोकेर संस्थालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै उपाध्यक्ष केसीले आफूले आफ्नो हारजीत नहेरेको बताए । उनले भने, ‘हामी सरकारसँग छलफल गरी अहिले छाएको अनिश्चतालाई छिट्टै नै तोड्छौँ ।’

केसीले परराष्ट्रको पत्रबाट कोही पनि विचलित नहुन र समयमै निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरे । यूरोपका प्रतिनिधिहरुको भर्चुअल भेलालाई सम्बोधन गर्दै केसीले कसैको हार र जीतले एनआरएन अभियान रोकिन नहुने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board