फुल व्यवसायमा जमेका अंगित


आफ्नो नर्सरीमा अंगित श्रेष्ठ ।                                                                                   तस्बिर : शरद रिजाल ।

बाँके :  खाडीमुलकमा पसिना चुहाएपछि घर फर्किएका नेपालगन्ज अन्नपुर्णटोलका अंगित श्रेष्ठले स्वदेशमै केही गर्ने तर बिदेश नजाने कसम खाए । तर स्वदेशमा के गर्ने ? असमन्जसमा परे । बुवाले जेनतेन एउटा नर्सरी चलाउँदै आएका थिए । तर त्यति राम्रो जम्न सकेको थिएन ।
त्यही हिमाल नर्सरी सम्हाल्ने जुक्ति फु¥यो । बुवाले जेनतेन चलाइरहेको नर्सरीमा लगानी थप्ने र त्यसलाई व्यवसायिक तरिकाले चलाउने निष्कर्षमा पुगे उनी । करिब ५ वर्ष भयो, अंगितले हिमाल नर्सरीलाई नयाँ रुप दिएका छन् । यस अवधीमा उनको नर्सरी नेपालगन्जमा मात्र होइन पश्चिम नेपालमै फुल बिक्री बितरणका क्षेत्रमा चर्चित भइसकेको छ । पैसा कमाउन बिदेश जान नपर्ने उदाहरण बनेका अंगितले अहिले दश जनालाई रोजगारी दिएका छन् । मासिक चार लाख बढिको फुल बिक्री हुन्छ । कर्मचारीलाई तलब, अनय खर्च जुटाएर कमाई ठिकठाकै रहेको अंगितले अनुभव साटे ।
‘थोरबहुत कमाई भएकै छ । घरमै बसेर अरुलाई पनि रोजगारी दिएको छु । मेरो लागि यही ठुलो सन्तुष्टि  हो ।’— उनले भने । मेहेनत गर्नेका लागि स्वदेशमै धेरै थोक रहेको उनले बताए । हिमाल नर्सरीमा शो प्लान्ट, सिजनल फुलहरु पाईन्छ । करिव तीन सय थरी फुल छ, उनको नर्सरीमा छ । पहिले बिरुवा भारत र काठमाण्डौंबाटै ल्याउने भए पनि उनले अहिले बिउँ ल्याएर यही उत्पादन गर्छन ।
नेपालगन्जका अधिकांस साना ठुलो होटल देखि पार्क सजावटको काम सम्म उनी नै गर्छन । फुल रोपेर घरलाई चिटिक्क पार्नेहरु बढ्दै गएपछि व्यवसाय पनि राम्रै भइरहेको अंगितले बताए । ‘हिजो हजारी फुल नकिन्ने मानिसहरु आज यही फुलमा धेरै रकम खर्च गर्न तयार छन् । घर, बगैचा सजाउनेहरुको संख्या बढ्दै छ ।’—उनले भने । अंगितले पछिल्लो समय बर्षमा चार पटक फल्ने आपदेखि स्याउसम्मका बोटहरु ल्याएका छन् । यसलाई अझ बिस्तार गर्दै लैजाने सोंचमा रहेका अंगितले आफ्नो कारोबार नेपालगन्ज बाहेक अन्य पनि बिस्तार गरेका छन् ।

प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार १०:१९  |