अस्ताए आचार्य, नेपालगन्जले गुमायाे हक्की ‘लिडर’


नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं नेपालगन्जको सामाजिक, आर्थिक र राजनैतिक आन्दोलनका अगुवा दामोदर आचार्यको शनिवार बिहान भेरी अस्पतालमा  निधन भएको छ ।

आचार्यले लामो समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । केही दिन पहिले मात्र दिल्लीबाट उपचार गराएर घर फर्किनुभएका उहाँलाई रोगले झन् च्यापेपछि शुक्रवार भेरी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि उहाँको शनिवार बिहान नौं बजे निधन भएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले संयुक्तरुपमा शोक ब्यक्तव्य जारी गर्दै स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन् । संघले सम्पूर्ण उद्योगी, व्यवसायीको तर्फबाट स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भने उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा शोकाकुल आचार्यकी धर्मपत्नी एवं नेपालगन्ज उद्योग वाणिज्य सघको कार्यसमिति सदस्य पार्वती आचार्य सहित परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गीय आचार्यको धर्मपत्नी, एउटा छोरा र तीन जना छोरी रहेका छन् ।

२०१९ साल कात्र्तिक १७ गते प्युठानमा जन्मिनुभएका आचार्य सरकारी सेवा हुँदै २०४९ सालमा नेपालगन्जको व्यवसायीकक्षेत्र लाग्नुभएको थियो । सोही समयदेखि उहाँले आफुलाई नेपालगन्जको आर्थिक, सामाजिक एवं राजनीतिक आन्दोलनको सशक्त अगुवाकारुपमा स्थापित गर्न सफल हुनुभयो ।

२०६३ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भई यहाँको व्यवसायिक हकहित र संघलाई नयाँ उचाईमा पुर्याउन उहाँले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ । आचार्यको निधनबाट संघले एउटा सशक्त र भरपर्दो नेतृत्व गुमाएको छ भने यसको अभाव सदैव महसुस भइरहने संघले जनाएको छ । आचार्यको भौतिक शरीर हामी माझ नभए पनि आफुनो जीवनकालमा उद्योगी, व्यवसायीको हितका लागि खेलेको महत्वपूर्ण योगदानको सदैव सम्झना भइरहने संघको शोक ब्यक्तव्यमा उल्लेख छ ।

स्वर्गीय आचार्यको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै आज शनिवार सम्पूर्ण उद्योग, व्यवसाय ९व्यवसायीक प्रतिष्ठानहरु० बन्द गरी शोक मनाउन र आज दिउँसो १ बजे संघको कार्यालयमा श्रद्धान्जलीका लागि उहाँको पार्थिव शरीर राखिने सम्पूर्ण उद्योगी, व्यवसायीमा संघले आह्वान गरेको छ ।

 

 

प्रकाशित मितिः     ५ चैत्र २०७८, शनिबार ११:४४  |