कोरोनाको चपेटामा प्रदेश २, स्वास्थ्य सामग्री खरिदमा २ करोड २१ लाख बढिको अनियमितता



जनकपुरधामः समग्र विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा परेको छ ।

समाचार तयार पार्दासम्म विश्वका २ सय १३ देशका ६२ लाख ८२ हजार भन्दा बढि व्यक्तिहरु कोरोना संक्रमित भईसकेका छन् भने ३ लाख ७४ हजार भन्दा बढि व्यक्तिले आफ्नो ज्यानको आहुती दिईसकेका छन् । नेपालमा समेत कोरोनाका कारण डेढ हजार भन्दा बढि व्यक्ति संक्रमित र ८ जनको मृत्यु भईसकेको छ जसमध्ये प्रदेश २ का मात्रै करिव ७ सय व्यक्ति संक्रमित छन् ।

समग्र विश्व आक्रान्त भएको बेलामा प्रदेश २ सरकार कोरोना संक्रमण नियन्त्रण तथा उपचारको बदला भ्रष्टाचारमा चुल्र्लुम डुबेको देखिएको छ । प्रदेश २ सरकारले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदको नाममा करोडौ रुपैयाँ भ्रष्टाचार गरेको तथ्य फेला परेको छ ।

कोरोनाको रोकथामका लागि उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरीदमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत करोडौं रुपैयाँ भ्रष्टाचार भएको हो । पीपीई सेट, एन–९५ मास्क, थर्मो्मिटर, सेनिटाइजर र सर्जिकल मास्क खरीदको नाममा बजार मूल्य भन्दा ४५ देखि २ सय प्रतिशत बढी महंगो मुल्यमा थोक खरीद गरी भ्रष्टाचार गरेको कुरा मन्त्रालयकै वेवसाइटमा जेठ १४ गते सार्वजनिक गरिएको कोभिड १९ मालसमान खरीद विवरणमा उल्लेख रहेको देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय रुपैयाँ पर्ने पीपीई सेट ६ हजार ५ सयमा, ५ हजार पर्ने आईआर थर्मो्मिटर ८ हजारमा, ३ सयसम्म पर्ने एन–९५ मास्क ५ सयमा, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँमा र १ सयदेखि बढीमा साढे दुई सयसम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरेको छ ।

सामाजिक विकास मन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले काठमाण्डौस्थित मेडी सोलुसन इन्टरनेशनल प्रा.लि.बाट ६ हजार ५ सयको दरले साढे ६ हजार पीपीई सेट ४ करोड २२ लाख ५० हजारमा,आदित्य इन्टरनेशनल जनकपुरबाट ८ हजारको दरले ४ सय पीस आईआर थर्मो्मिटर ३२ लाखमा,राइन सप्लायर्स जनकपुरबाट एन-९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजारमा, जेके आरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. काठमाण्डौबाट १६ रुपैयाँको दरले ९० हजार पीस सर्जिकल मास्क १४ लाख ४० हजारमा र दुर्गा ट्रेड लिङ्क जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरि जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ ।

यता,मेडि सोलुसन इन्टरनेशलन प्रा.लि.को प्रतिनिधिसँग दररेट सम्बन्धि जानकारी लिन खोज्दा आफू कहाँ पीपीई सेटको मुल्य १ हजार २ सयदेखि बढीमा ३ हजार ५ सयसम्मको रहेको बताए । उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालको कुनैपनि बजारमा पीपीई उपलब्ध छैन् । सोही पीपीई सेटको मुल्य जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

२ करोड २१ लाख बढिको भ्रष्टाचार

यसरी हेर्ने हो भने खरिद गरिएको सामग्री मध्ये खुद्रा दररेटकै हिसाब गर्दा पीपीई र थर्मो्मिटरको प्रति सेटमा ३ हजार, एन-९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मुल्य निर्धारण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामान मध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मो्मिटरमा १२ लाख, एन-९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरि आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको प्रष्ट देखिन्छ ।

यस सम्बन्धमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले आफुहरुले प्रक्रिया पुर्याएर प्रतिष्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरेको दाबी गरेका छन् । उनले भने,‘बजारमा धेरै क्वालिटीका सामानहरु उपलब्ध छन् तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामानहरु किनेका छौं । त्यसैले मुल्य बढि तिर्नुपरेको छ ।’सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतका खर्च समेत जोडेर हेर्दा यस प्रदेशले बागमती, गण्डकी र प्रदेश नम्बर-१ ले खरिद गरेको दरभन्दा पनि कम मुल्यमा खरिद गरेको छ ।

कुन अस्पताललाई कति ?

पर्सा जिल्लास्थित पोखरिया अस्पताललाई ३७ लाख
रौतहट जिल्लास्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुलाई ५६ लाख
सर्लाही जिल्लास्थित मलंगवा अस्पताल र मातहत रहेका कोभिड अस्पताललाई ४० लाख ७५ हजार सप्तरी जिल्लास्थित भारदह अस्पतालमा २ करोड ९० लाख
सिरहा जिल्लास्थित सिरहा अस्पताल र मातहत रहेका कोभिड अस्पताललाई ६५ लाख
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड लेभल-१ अस्पताललाई २५ लाख
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख
सप्तरीको भारदह अस्पताललाई ३१ लाख
सिरहाको लहान अस्पताललाई १९ लाख ५० हजार
सिरहा अस्पताललाई १९ लाख ५० हजार
प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार
जलेश्वर अस्पताल महोत्तरीलाई १९ लाख ५० हजार
मलंगवा अस्पताललाई १९ लाख ५० हजार
गौर अस्पताललाई १९ लाख ५० हजार
कलैया अस्पताललाई ३१ लाख २५ हजार
पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार
नारायणी उपक्षेत्रीयअस्पताल वीरगञ्जलाई ३ करोड ९ लाख ५० हजार

प्रतिक्रिया दिनुहोस्