बरमझियाका पेडा व्यवसाय सङ्कटमा



राजविराज : कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालकै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ । नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन् । लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैँसीको दूध र चिनी तथा दाउरा मागबमोजिमको आपूर्ति हुन नसक्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको पेडा व्यापारीको गुनासो छ ।

लगातारको लकडाउनले पेडाको व्यापार गर्नेहरुको पेशा मात्रै सङ्कटमा परेको छैन, पेडा व्यवसाय नै सङ्कटमा परेको माँ कंकालिनी पेडा भण्डारका पेडा व्यवसायी राजकुमार गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “दूध, दाउरा र चिनीको कमीका साथै पसलमा काम गर्ने कर्मचारीसमेत अभाव भएको छ ।” उहाँले आफनो पसलमा काम गर्ने तीन कर्मचारी रहेको र लकडाउनले गर्दा डेढ महिनादेखि पेडा पसल बन्द हुँदा उनीहरुलाई खाना खुवाउने पैसासमेत सकिएको गुनासो गर्नुभयो ।

त्यस्तै विगत १३ वर्षदेखि बरमझियामा पेडाको पसल सञ्चालन गरेर बस्नुभएका पुरानो बूढोबाजे पेडा पसल सञ्चालक राजेन्द्र साहले रु छ लाख ऋण काढेर पसल सञ्चालन गरेकामा पहिला दैनिक तीन÷चार हजारको व्यापार हुन्थ्यो, लकडाउनपछि पेडाको व्यापार चौपट भएको बताउनुभयो । लकडाउनले अहिले प्रतिकेजी रु १०० चिनीको मूल्य रहेको महङ्गीमा पनि पेडा बनाए पनि बिक्री नै रोकिएपछि लिजमा लिएको घरभाडा तिर्नसमेत धौधौ भएको गुनासो साहले गर्नुभयो ।

उहाँले दूधको उत्पादन र आपूर्तिको अवस्थामा सुधार नआए देश विदेशमा नाम कमाएको पेडाको गुणस्तरमा समेत ह्रास आउन सक्ने बताउनुभयो । चार दशकअघि वैधनाथ साहले सर्वप्रथम बरमझियामा पेडा पसल शुरुआत गर्नुभएको थियो । अहिले बरमिझयामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा रहका छन् । श्री बाबा वैद्यनाथ पेडा भण्डारका सञ्चालक जगदीश शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको बरमझियाको पेडा व्यवसाय लकडाउनका कारण पूर्णरूपमा बन्द छन् ।

यही पसलको सहारामा दुई छोरा र दुई छोरीको पढाइदेखि लिएर परिवारको गुजारा चल्ने गरेको थियो । यस्तै ओम बाबा वैद्यनाथ पेडा भण्डारका वीरेन्द्र चौधरीले पाँच वर्ष अगाडि बरमझियामा बैंकबाट ऋण लिएर करिब रु १० लाखको लागतमा पेडा पसल सञ्चालन गरेको बताउनुभयो । उहाँले गाउँघरबाट सयकडा तीनमा लिएको ऋणबाट पेडा पसल थालिएको तर अहिले लकडाउनले गर्दा डेढ महिनादेखि पसल बन्द भएका कारण नौ जनाको परिवार पाल्न समस्या परेको गुनासो गर्नुभयो ।

उहाँले रु १२ हजारमा मासिक कोठाभाडा लिएर यहाँ पेडा पसल सञ्चालन गर्दै आउनुभएको छ । सप्तरीकै पुरानो बाजेको पेडा पसल सञ्चालक गङ्गा पञ्जियारले पनि आफू पेडा पसलबाट कोठाभाडा, कर्मचारी खर्च सबै कटाएर मासिक रु २५ हजार आम्दनी गर्दै आएको बताउनुभयो । लकडाउनपछि पसल बन्द हुँदा आफनो घर चलाउन समस्या भइरहेको बताउनुभयो । यसैगरी नारायण पेडा भण्डारका सञ्चालक नारायण मण्डलले दुई कर्मचारीलाई बसाएर खुवाउँदै छु, कहिले लकडाउन खुल्छ र हाम्रो पसल चल्छ अनि पसल सञ्चालनका लागि लिएको कर्जा चुक्ता गर्न सकिन्छ चिन्ताले सताएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पेडाको माग दिन प्रतिदिन बढ्दै गए पनि लकडाउनका कारणले दूधको आपूर्ति भने घट्दै गएको पाइएको छ । बरमझियास्थित विभिन्न पेडा पसलमा दैनिक रु १७ लाख मूल्य बराबरको ८० मन दूध खपत हुने गरेको व्यवसायीको भनाइ छ । कर्मचारीसहित करिब १८ जनाले यही पसलबाट पेट पालेको उहाँको भनाइ छ । पेडा व्यवसायका कारण दैनिक एक हजार किसान दूध बेचेर आर्थिक लाभसमेत लिने गरेको थियो । करिब ८० वर्षको लामो इतिहास बोकेको पेडा व्यवसायको शुरुआत वैद्यनाथ साहले गर्नुभएको थियो ।

अहिले देखासिखी गर्दै सोही मिल्दोजुल्दो नामका करिब ४० देखि ५० पेडा पसल सञ्चालनमा रहेको कञ्चनरुप नगरपालिका–१० का स्थानीयवासी नारायण खड्काले बताउनुभयो । त्यसपछि सबै पेडा पसलको नाममा ‘असली’, ‘पुरानो’, ‘बूढा’ र ‘वैजनाथ’ जोडिएका छन् । यस पसल पछि ब्राण्डकै रूपमा स्थापित भएका सबै पसलको नाममा ती शब्दसँग जोड्नुपर्ने बाध्यता बनेको स्थानीय बताउँछन् । बरमझियामा असली, पुरानो, बूढा र वैद्यनाथ नजोडी नाम राखिएका पसलले ग्राहक नपाउने भएकाले उनीहरूले त्यही ब्राण्डमा पेडा पसल चलाइरहेका छन् । यहाँका हरेक घरको रोजगारी पेडा व्यवसाय नै बनेको छ ।

दशैँदेखि छठसम्म पेडाको माग अत्यधिक हुने र यो समयमा व्यापार पनि राम्रो हुने गरेको व्यवसायीहरुले बताएका छन् । यहाँको पेडा अहिले प्रतिकिलो रु ७०० देखि ८५० सम्म पर्छ । प्रतिस्पर्धा बढिरहे पनि बरमझियाको पेडाको आकर्षण घटेको छैन । हरेक वर्ष बजार बढ्दै गएको अवस्थामा पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम सबै दिएको स्थानीयवासीको भनाइ छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय रहेको बरमझियाको पेडाको गुणस्तर र तौलमा शुद्धता प्रमुख चुनौती रहेकाले पेडा व्यवसायीको समस्या समाधान हुनुपर्ने व्यवसायीले माग गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको बरमझियाको पेडा पसलमा चाडपर्वका बेला राजमार्गमा सवारी साधन र मानिसको आवतजावत बढी हुन्छ । यात्रीसमेत पेडा चाख्न र कोसेलीका रुपमा आफन्तलाई पेडा नै लगिदिन चाहन्छन् । त्यही भएर चाडपर्वका बेला पेडाको माग अत्यधिक हुने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्