जनकपुरधाम : एकातर्फ नेपाल सरकारले भारतको जयनगरदेखि जनकपुरधामसम्म आधुनिक ब्रोडगेज रेल चलाउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने अर्कोतर्फ रेल्वेका पुराना ईन्जिनहरु संरक्षण अभावमा कामै नलाग्ने अवस्थामा रहेका छन् ।
ऐतिहासिक न्यारोगेज रेलका पुराना सम्पत्तिहरू कवाडीमा परिणत भएको छ । राज्यले चासो नदिँदा न्यारोगेज रेलका पुराना वाष्प ईन्जिन, बोगी लगायतका सामानहरु लथालिङ्ग अवस्थामा रहेको छ । रेलसेवा बन्द भएपछि पुराना ईन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेको सहजै देख्न सकिन्छ ।
नेपाल रेल्वेको यी ऐतिहासिक पुराना सम्पतिहरुको संरक्षणका लागि सरकारले १६ जना कर्मचारी समेत खटाएको थियो । तर, सरोकारवालाको हेलचक्रयाईँका कारण ती सामानहरु समेत चोरी हुने क्रम जारी छ ।
जनकपुरधामबाट करिव १५ किलोमिटरको दूरीमा अवस्थित खजुरी रेल्वे स्टेशनमा थन्काइएका विष्णु, ब्रह्म, गोरखनाथ, रामसीता, पशुपतिनाथ नामक पुराना रेलका ईन्जिनहरु संरक्षणको पर्खाइमा छन् ।
२०५० सालसम्म वाष्प ईन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगीसहितको डिजेल ईन्जिन सहयोग गरेपछि जनकपुरधाम–जयनगर रेल सञ्चालनमा ल्याइएको थियो ।
बनला त संग्रहालय ?
विश्वभरी नै विस्थापित भइसकेको वाष्प ईन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने चौतर्फी रुपमा आवाज उठेपनि सरकारले भने अहिलेसम्म पनि कुनै ठोस कदम उठाएको छैन ।
नेपाल रेल्वेका ती पुराना ईन्जिनहरुलाई संरक्षण गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सोही गाउँका मनोज साहले बताए । सरकारको ऐतिहासिक सम्पत्तिको रूपमा रहेपनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ सरकारले ध्यान नदिपछि स्थानीय चिन्तित बनेका छन् ।
खजुरीवासी जुटे संरक्षणमा
सरकारी स्तरबाट कुनै चासो नदेखाइएपछि खजुरीवासीहरु स्वयं नेपाल रेल्वेको पुराना ईन्जिनहरुको संरक्षणमा जुटेका छन् ।
नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउने मान्यताका साथ आफूहरु संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल शुरु गरेको स्थानीय सोनु ठाकुरले बताए ।
नेपाल रेल्वेको खजुरीमा रहेको १० विघाभन्दा बढी जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीको बुझाई छ ।