काँग्रेसभित्र न विवाद छ न संकट नै : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।
काँग्रेस नेता नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौ । पार्टी जीत हारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौँ । त्यसकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’
देउवाले नेता जोशीको निधनले पार्टीले एक क्षमतावान नेता गुमाएको बताए । स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको पनि बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताए ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्