विवाद मिलाउन गएकालाई नै चिर्पटले हानेर हत्या

75

जनकपुर – धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।

शुक्रबार राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाईते भएका पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा उनको मृत्यु भएको मृतकका छोरा सूर्यनारायण पुलामीले जानकारी दिए ।

रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएको थियो । दुई समूहबीच भएको विवादले झगडाको रुप लिइसकेको थियो । झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो ।

पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनामा संलग्न एक जना फरार रहेको प्रहरीको धारणा छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका–१ बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ बस्ने मनु यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न अमरजीत यादव भने फरार छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here