मध्यभोटेकोसीमा सातादेखि ताला

    3229

    चौतारा, फाल्गुन १७ –
    निर्माणको चरणमा रहेको १ सय २ मेगावाटको मध्यभोटेकोसी आयोजनाको बाह्रबिसे स्थित साइट कार्यालयमा प्रभावित गाविसको एक समूहले शुक्रबारदेखि लगाएको ताला खुल्न सकेको छैन ।  स्थानीयलाई रोजगारी नदिएको र आयोजनाका निर्णयमा आफूहरूलाई बेवास्ता गरेका भन्दै चारबुँदे माग राखेर उनीहरूले ताला लगाएपछि आयोजनाको साइट कार्यालयबाट हुने प्रशासनिक काम ठप्प भएको छ ।

    सार्वजानिक सुनुवाइमा घोषित प्रतिबद्धता पूरा नगरेको भन्दै मार्मिन, गाती र घुमथाङ गाविसका युवाहरूद्वारा हस्ताक्षरित ज्ञापनपत्र गत माघ २२ गते आयोजनालाई बुझाइएको थियो ।

    सन् ०१३ मा सुरु गरेर ०१६ मा पूरा गर्ने लक्ष्यअनुरूप जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको काम भइरहेका बेला  विशेषतः कर्मचारी भर्नामा पक्षपात गरेको भन्दै ताला लगाइएको हो । ‘मिलेसम्मका कर्मचारी जिल्लाकै छन्,’ आयोजनाका प्रबन्ध निर्देशक प्रकाशमान श्रेष्ठले भने, ‘कुनै विषयमा छलफल नगरी एक्कासि ताला लगाउँदा गलत परम्पराको विकास हुने खतरा छ । ‘स्थानीयसँग छलफल चलिरहेको छ,’ उनले भने ।

    पछिल्लो समयमा कर्मचारी भर्नामा राजनीतिक दलहरूबीच भागबन्डा नमिल्दा समस्या सिर्जना भएको आयोजना स्रोतको दाबी छ ।

    प्रस्तुति: कान्तिपुर

    ———————————————————————————————————————————————————————-

    जागिर माग्दै मध्यभोटेकोसीमा ताला

    ध्रुव दंगाल, सिन्धुपाल्चोक, फागुन १८ – स्थानीयलाई मात्र रोजगारी दिनुपर्ने माग गर्दै गाती गाविसका स्थानीयले निर्माणाधिन मध्यभोटेकोसी आयोजनाको फिल्ड कार्यालयमा ६ दिनदेखि लगाएको ताला अझै खुल्न सकेको छैन।

    गाती गाविसका कार्यालय सहायक सुप्पा श्रेष्ठको नेतृत्वमा शुक्रबार आयोजनाको बाह्रबिसेस्थित फिल्ड कार्यालयमा ताला लगाइएको थियो। रोजगारीका तीन बुँदे माग अघि सार्दै उनीहरुले ताला लगाएका थिए। ताला खोल्न आयोजनाले पहल गरेपनि सफल हुन सकेको छैन। ‘तालाबन्दीले तीव्र रुपमा अघि बढेको काममा असर गरेको छ,’ आयोजना प्रमुख प्रकाश अवस्थीले नागरिकसँग भने।
    उनीहरुले आयोजनाले पूर्ववत सम्झौता कार्यान्वयनमा ढिलाई गरेको, रोजगारीमा स्थानीयलाई प्राथमिकता नदिएका आरोप लगाएका छन्। प्रभावित पाँच गाविसबाहेक अरुलाई रोजगारी दिन नहुने उनीहरुको माग छ। तालाबन्दीका क्रममा अवरोध नगरी पहिला छलफलमा आउन आयोजनाका अधिकारीले गरेको आग्रह नमानि ताला लगाएका थिए। सो क्रममा स्थानीय र अधिकारीबीच चर्काचर्की समेत भएको थियो। स्थानीयलाई उच्च तहमा रोजगारी नदिएको भन्दै उनीहरुले आक्रोश पोखेपछि आयोजनाका अधिकारीले प्राविधिक रुपमा दक्ष जनशक्ति यहीँ उपलब्ध भए जागिर छोडिदिने बताए।
    ‘सीप, दक्षता र योग्यता अनुरुप रोजगारीमा स्थानीयलाई नै प्राथमिकता दिएका छौं,’ आयोजना प्रमुख अवस्थीले भने, ‘सुनकोसी नदीबाट गिटी, बालुवा ल्याइने हुँदा रोजगारीमा अन्यलाई पनि निषेध गर्न मिल्दैन।’ मार्मिङ, गाती, घुम्थाङ लगायत पाँच गाविसलाई आयोजनाले प्रभावित गाविसको रुपमा घोषणा गरेको छ।
    निर्माण ठेकेदार छनोटको तयारीमा जुटेको आयोजनास्थलमा परीक्षण सुरुङ, प्रारम्भिक अन्य संरचना आदिको काम भइरहेको छ। प्रहरीले बल प्रयोग गरी ताला खोलाउने र सुरक्षा दिने बताएपनि आयोजनाले छलफलबाट टुंग्याउने पक्षमा उभिएको छ। प्रमख अवस्थीले छलफलबाटै निकास खोज्ने पक्षमा आयोजना रहेको बताए। ताला लगाउन नेतृत्व गर्ने श्रेष्ठ एमालेको युवा संगठन युथ फोर्सका नेता पनि हुन्। बाँध चाकुमा र पावरहाउस जम्बुमा रहने १ सय २ मेगावाट क्षमताको यो आयोजनाको प्रारम्भिक चरणका धेरै काम सकिइसकेका छन्। आयोजनाले तालाबन्दीको जानकारी जिल्ला प्रशासन र सुरक्षा निकायमा दिएर समस्या समाधानका लागि सहयोग मागेको छ।
    गत वर्षदेखि प्रारम्कि चरणको काम थालेको आयोजना निर्माणको पर्यटन व्यवसायीले विरोध गर्दै आएपनि ताला लगाएर अवरोध गरिएको यो पहिलो पटक हो। कांग्रेस जिल्ला पदाधिकारी बाहेक सबै राजनीतिक दल आयोजनाको पक्षमा उभिंदै आएका छन्। आयोजनाप्रति निकै सकरात्मक एमाले समर्थित भातृसंगठनका नेताको अगुवाईमा ताला लागेकाले आयोजनाले एमाले नेतृत्वसँगै छलफल गरी समाधानको उपाय खोजिरहेकाले अवरोध खुल्न ढिलाइ भएको स्रोतले बतायो।

    प्रस्तुति: नागरिक