समाचार

सङ्घीय संरचनाका क्रममा बाँकेलाई विभेद् गरिएको छ – मन्त्री राई

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सङ्घीय संरचनाका क्रममा बाँकेलाई विभेद् गरिएको बताएका छन्।

नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले आयोजना गरेको नेपालगञ्ज प्रादेशिक महोत्सवको आइतबार उद्घाटन गर्दै उनले भने “बाँकेको नेपालगञ्जलाई राजधानी बनाउने आन्दोलनमा लुकेर बसेकाहरु अब कराएर केही हुँदैन, यो प्रवृत्ति त रुझेको बिरालोले खम्बा चिथोर्ने जस्तै हो ।” आवेशबाट मागको सम्बोधन हुँदैन भन्दै मन्त्री राईले राजनीतिक सहमतिबाट नमिलेका विषय अझै मिलाउन सकिन्छ बताए ।

महोत्सव उद्घाटन समारोहमा प्रदेश नं ५ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेल, सङ्घीय सांसद महेश्वर गहतराज, नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले नेपालगञ्जको विकास सबैको साँझा प्रयत्नबाट हुनुपर्नेमा जोड दिए । यही फागुन २९ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनका करीब ३०० कक्ष रहेको सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताए ।