राजनीति

शिवमायालाई कुनै पनि हालतमा सभामुख स्वीकार गर्न सकिँदैन- अध्यक्ष दहाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कुनैपनि हालतमा सभामुखमा स्वीकार गर्न नसकिने बताएका छन् ।

नेकपा अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटवार्तामा प्रचण्डले यस्तो अडान राखेका हुन् । सभामुख कसलाई बनाउने भन्ने बिषयमा पछिल्ला दिन सम्वन्ध सम्वादमा नरहेका दुइ अध्यक्षवीच आजको भेटमा सौहार्दपूर्ण कुराकानी भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ६ माघको प्रतिनिधिसभा बैठक अगावै सभामुख उम्मेदवारमा सहमति जुटाउन दुइ अध्यष सकारातमक देखिएका छन् ।

शिवमायालाई अस्वीकार गरेका प्रचण्डले अर्का अध्यक्ष केपी ओलीले अघि सारेका सभामुखका उम्मेदवार सुवासचन्द्र नेम्वाङका बिषयमा भन खुलेर असन्तुष्टि नजनाएको ओली सचिवालयको दावी छ ।

दुई अध्यक्षले छलफलका क्रममा जिल्लामा रहेका नेकपा वरिष्ठ नेता माधव नेपालसँग पनि फोन सम्वाद गरेका छन् । उनीहरुवीच भोलि या पर्सीसम्ममा सचिवालय बैठक डाकेर उम्मेदवार तय गर्ने सहमति समेत भएको छ ।

प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गराएका थिए । त्यो दिन अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए ।

अध्यक्षद्वयमा त्यही दिनदेखि सम्बन्ध बिग्रेको थियो । तर, उपसभामुखलाई राजीनामा दिलाउने सचिवालयको बैठकभन्दा पहिला अथवा २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली प्रचण्डको सम्बन्धमा तिक्तता आएको थियो ।

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय पनि अहिले बेवारिसेजस्तो बनेको छ । उपसभामुखले राजीनामा नदिने अडान लिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । उनी त्यसको विकल्प र कानुनी परामर्शमा पनि लागेका छन् ।

ओली र प्रचण्डबीचको संवादहीनता अन्त्यका लागि महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सक्रिय भएका थिए ।