१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विषादीयुक्त तरकारी खान बाध्य छन्– उपभोक्ता



दाङ, १५ साउन ।
खानयोग्य छ वा छैन भन्ने जानकारीको अभावमा दाङका उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएका छन् ।
किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, कीरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् ।
विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि यहाँ बढेको छ । जसकारण उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य भएको जानकार बताउँछन् । तरकारीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले मन्द विषसेवन गरिरहेको कृषि प्राविधिक माधव केसीले बताउनुभयो । अत्यधिक विषादी प्रयोग भएका हरियो तरकारी खाँदा अल्पकालीन र दीर्घकालीन रोग निम्त्याउनसक्ने भएकाले यसतर्फ उपभोक्त र किसानलाई सचेत गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
तरकारीको नियमन गर्ने निकाय कृषि विकास कार्यालय रहेको र हालसम्म ती कार्यालयले बजारमा विषादीयुक्त तरकारी बिक्री बितरण भइरहेको छ, छैन् भन्ने सम्बन्धमा कुनै अनुगमन गर्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताउनुभयो ।
कृषि विकास कार्यालय दाङले तरकारीको गुणस्तर परीक्षण गर्न नसकिएको स्वीकार गरेको छ । कार्यालयका बालीसंरक्षण अधिकृत पिताम्बर बस्नेतले तरकारीको गुणस्तर परीक्षण गर्ने उपकरण र जनशक्ति नभएका कारण यसको परीक्षण हुन नसकेको बताउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  २ : ३२ बजे