काेराेना प्रभाव : महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुँदै

काेराेना प्रभाव : महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुँदै


संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विद्यालय धमाधम बन्द हुन थालेका छन्। कतिपय क्याम्पसमा शिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिकरुपमा बन्द भएका छन्।

देशैभर काेराेनाकाे तेस्रो लहर सुरू भएको चिकित्सकहरूले  बताइरहेको बेला यसकाे असर महोत्तरीमा पनि देखिएको छ। भाइरसको जोखिम न्यूनिकरणस्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मेडर्ना खोप दिन थालेकाे छ। 

जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर  विद्यार्थीहरूलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। सबैभन्दा जोखिम विद्यालय, क्याम्पसमा पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयहरू आजैदेखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघपछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनकाे तयारी छ। 

कतिपय विद्यालयले भर्चुअल विधिबाट कक्षा लिनसमेत सुरु गरिसकेका छन्। तर, सरकारले अचानक गरेको निर्णयले निजी विद्यालयमा झन समस्या थपेको महोत्तरी प्याबसनको गुनासो छ।

यदि सरकारले अनुमति दिए जोखिमरहित वातावरणमा कक्षा संचालन गर्न तयार रहेको उनीहरूकाे भनाइ छ। महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन् भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन्।

Logo