लमजुङमा कर कार्यालय सञ्चालनमा

लमजुङमा कर कार्यालय सञ्चालनमा


काठमाडौं ।

लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरुलाई कर सम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो ।

करदाता सेवा कार्यालय बेसीसहरका कर अधिकृत सुशिल लम्सालले हालसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङ जिल्लाका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिनेगरी कार्यालय सञ्चालनमा आएको बताए। कर अधिकृत लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप कार्यहरु गर्नेछ ।

कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा पाउने पनि उनले बताए । लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई कर सम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताए।

लमजुङ र मनाङ जिल्लाका करदाताहरु यस अघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट कर सम्बन्धी सेवा लिंदै आएका थिए । कर दाता सेवा कार्यालयले लमजुङमै सेवा सूचारु गरेपछि करको दायरामा आउनेहरुको संख्या अझै बढ्ने लम्सालको भनाइ छ ।

Logo