बालुवामा पानी हाल्न तयार होलान् कोही ?

बालुवामा पानी हाल्न तयार होलान् कोही ?


नेपालमा बाह्य लगानी

  • सानुबाबु सिलवाल
    भनेजस्तै खानपिन गर्न सक्ने, भनेजस्तै लुगाफाटो लगाउन सक्ने, गतिला बास भएका मानिस औँलोले गन्ती गर्दा लगभग २ देखि ३ लाखको हाराहारीमा हुनुपर्दछ नेपालमा । विदेशमा हड्डी घोटेर, घुँडा धसेर, रातदिन नभनी आफ्नै ज्यानलाई धरपकड गरी दुःखजेलो गर्ने प्रवासी दरसन्तान, आफन्त, परिवारले पठाएको रेमिट्यान्स रकम बुझ्नेहरूको हिसाबै गर्दा पनि । दिनदिनै हिसाबकिताब गर्दा वर्षमा झन्डै ९ लाखको हाराहारीमा बिदेसिन थालेकोसमेत हेर्दा मुलुक ग्वाटेमाला बन्ने लगभग देखियो । मतलब मुलुकमा ढुङ्गै फोर्ने राता र आला रगतहरू प्रदेशिन थालेपछि सुगरका रोगी, क्षयरोगी, दमको रोगी, मुटुरोगी, कुपोषणबाट प्रभावित, ब्लडप्रेसरका रोगी, बूढाबूढी, बालक, बालबच्चा, दुःखी र साधारण महिलाबाहेक अब जन्ती र मलामीकै जोरजाम गर्न मुस्किल हुँदै छ जन्मभूमि नेपाल ।

प्रचारवादी आत्मरतिका मानवहरूले लगानी भित्र्याउने नाममा कक्टेल, लन्च र डिनरसँगै १० अर्बको कागजे खोस्टोमा हस्ताक्षर गरी प्रचारको लिगलिग दौडमा कुदिरहेको देख्दा एकातिर हाँसो उठेर आयो, अर्कोतिर यस्ता अवसरवादी, प्रचारवादी, हुण्डीवादी, कालो धनलाई सेतो बनाइदिने ट्रान्सफरवादी, नेता, शक्ति एवम् सत्तालाई पुज्ने मौसमअनुसार रङ फेर्ने धूर्तहरूको जगजगी छ अहिले सामाजिक सञ्जालहरूमा ।

नुन, तेल, मरमसलादेखि सियोधागोसम्म भारत र चीन नभए नधानिने मुलुक नेपालको धानबारीको खलो भारतीयबिना नउठ्ने भइसक्यो । पानीघट्टदेखि धान, तोरी पिस्ने मिलसम्म भारतीय छन् अधिकांश । मतलब ह्युमन रिसोर्सेस नै छैन उत्पादनमा खट्नका लागि ।

जमिन जोतेर तरकारी खेती लगाउने किसानले उत्पादनमा लागेको खर्चसमेत उठ्न नसक्ने गरी बजार नपाएपछि सडक, भिर र खोलामा खन्याउनुपर्ने अवस्था छ । मतलब खपत गरिदिने मानिस छैन । छिमेकी चीन र भारतले खाइदिएनन् भने, किनिदिएनन् भने नेपालका कुनै पनि उत्पादन आफ्नै बजारमा बिक्री भएर लगानी नउठ्ने अवस्था छ । दोहोरो कर छ, चन्दा, राजनीति र अधिकारका नाममा धरपकड छ ।

हाइड्रोपावर, फाइनान्स कम्पनी, क्याफे, म्यानपावर कम्पनी, क्लिनिकभन्दा बाहेक मुलुकको अन्य लगानीको भरपर्दो क्षेत्र छैन । कम्पनी दर्ता गर्न गएकै दिन कम्पनी रजिस्ट्रारको कार्यालयमा एक्स्ट्रा रकम चढाउनुपर्दछ । समाज, मानसिकता, दल, नेता, कार्यकर्ता र पूर्ण समाजमा सुशासन छैन । काम गर्ने भरपर्दो ह्युमन रिसोर्स नै छैन । अन्य निकाय, व्यक्ति एवम् दस्ताले करप्सन गर्दा कारबाही गर्ने निकायको अख्तियारी पाएको अख्तियारको हाकिम भ्रष्टाचारी छ, उही नै करप्टेड छ भनेपछि रातदिन दुःख गरी कमाएको पैसा बालुवामा पानी हालेझैँ कसले लगानी गर्ने नि ?

हप्तामा ६ दिन दिन कम्तीमा १० घन्टा आफ्ना बूढीहरूले श्रम गरिदिएनन् भने लगानी समिटमा ताँती लाग्ने र १० अरबे खोस्टोमा लालछाप लगाउनेलाई महान् देख्नेहरूका घरको भड्डु तात्दैनन् । हिपोक्रेटहरूका दशवटा अवतार वाहा !

९ हजार ९ सय ९९ डलरभन्दा बाहेक वा माथि डलर बाहिरिन दिँदैन अमेरिकन सरकारले अब आइन्दा मतलब करेन्सी ट्रान्जेक्सन रिपोर्ट सीटीआर दाखिला गर्नुपर्दछ । कमाएको रकम, कर दाखिलापछि लिगल्ली देखिएको रकमदेखि बाहिरिन दिँदैन अमेरिकाले । २–४ सय डलर वेस्टर्न युनियन, २–४ हजार हुण्डीबाट ओसारपसार गरेको रकमले असनको सडकमा एक नाङ्लो पुष्टकारी, मिठाई पसल राख्न पनि अपुग हुनेछ भनेपछि कुनचाहिँ कमाइको रकमले १० अर्ब पुऱ्याउला त ? यो दलाल, ठग, मानव तस्करी, मुलुकमारा, भ्रष्टचारी, तस्करहरूको इलेगल मनी लिगल्ली गर्न लगानीका नाममा गरिएको प्रपञ्च हो भनेर पत्ता लगाउन धेरै समय कुर्नुपर्ने छैन ।

लौ न त उतैको बाउबाजेको सम्पत्ति बेचबिखन गरी उतै लगानी गरौँ भन्दा उताको कमाइ यता देखाउनुपऱ्यो, देखाएर मात्रै पुगेन, दोहोरो कर पनि तिरनतारन गरी फारफारक गर्नुपऱ्यो । यता बसेर उता कमाइ भइहाले यता कर तिरिसकेको रकम उताबाट यता ल्याउन दिँदैन राष्ट्र बैंकले भनेपछि तपाईंको आफ्नै मुनाफाको कमाइ कहिले मोज गर्न पाइने भइयो त ? कुरो गऱ्यो कुरैको सङ्कट भनेजस्तो दलालहरूको यो लगानीको पार्से कुरा कसरी बुझून् दैनिक १५ घन्टा काम गरी घिटिघिटी गरी ज्यान पाल्दै गरेका प्रवासीले ?

एक कौडी, एक डायम र एक पेनी लिगल मनी अमेरिकाबाट नेपालमा लगानीका निमित्त १० अरबे प्रचारको खोस्टोमा रंग्याउन जानेछैन अमेरिकाबाट । ट्याक्सी ड्राइभरले लगानीको भेलामा लगानी गर्छु भनेर कमिटमेन्ट, अमेरिका र क्यानडाको आफ्नो घरको फ्रिजमा दुई टुक्रा जगेडा पाउरोटी, हाफ ग्यालेन मिल्क र एक दर्जन कुखुरीको अन्डा पाहुनापाता र भनेकै बेला आफैँलाई खानकै लागि भने पनि जगेडा राख्न नसक्नेहरूका करोड र अर्बका लगानीका कमिटमेन्टले जग हँसाएर ल्यायो ।

सडकमा काम गर्ने मानिस छैन, विकासको बजेट खर्च हुँदैन नेपालमा मतलब फ्रिजिङ हुने गर्दछ । यतै छेउ करप्सन, उतै छेउ करप्सन, ठाउँका ठाउँ देख्दादेख्दै मानिसलाई दिउँसै रात पारिदिने समाजमा इमानदार मानिस, पारदर्शी मानिसको अभाव बढ्दै छ भनेपछि अमेरिका र बेलायत बसेर नेपालमा लगानी गरी झर्ला र खाउँला भनी कुर्नेहरू कति जना होलान् त ?

काम हत्याउन र भनेजस्तो लाइसेन्स नेपाल सरकारबाट फुत्काउन प्रधानमन्त्रीका पत्नीलाई करोडौँका घर किन्न, सासू राजदूतलाई उपयोग गर्ने एनआरएनको नेताको १० अर्बको लगानी हस्ताक्षरको बधाई र खुसी साट्ने उसका ‘कमनसेन्स लेस’ जमातलाई के भनौँ र खै ? कलियुगमा यस्तै यस्तैका दिनको रमिता हेर्ने हो ।